अध्याय 28

हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ। म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु। मेरो प्रार्थनाहरूलागि कान नथुन्नुहोस्! यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरूभन्दा हीन छु।
2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।
3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्। उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्। परमप्रभुले तिनीहरूलाई दण्ड दिऊन् अनि सम्वृद्धिपूर्ण नबनाऊन्।
6 परमप्रभुको प्रशंसा गर। उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।
8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ। परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।
9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। जो तपाईंका हुन तिनीहरूलाई आशीर्वाद दिनु होस्। तिनीहरूको अनन्त अगुवाइ र सम्मान गर्नुहोस्।