1 कोरिन्थी

अध्याय : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16


अध्याय 13

1 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।
2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।
3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।
7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ।
8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।
9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्।
10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ।
11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।
12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।
13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।