योना

1 2 3 4


अध्याय 2

योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।
2 उनले भने, “मेरो कष्टको कारणले मैले परमप्रभुलाई प्रार्थना गरें अनि उहाँले मलाई उत्तर दिनुभयो। मृत्युको संसारदेखि म कराएँ, र तपाईंले मेरो बिन्ति सुन्नुभयो।
3 “तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरु थिए। तपाईंका भयंकर छालहरुले मलाई डुबायो।
4 तब मैले भनें, “म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।
5 “पानीले मलाई मेरो प्राण सम्मै घेर्यो, गहिरो सगर मेरो चारैतिर थियो, मेरो टाउको भरि समुद्रका झ्याउहरु बेहेरिएका थिए।
6 म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो।
7 “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो।
8 “ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन् तिनीहरुले गर्नु पर्ने साँचो भक्तिलाई त्याग्द छन्।
9 तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु। “उद्धार परमप्रभुबाटै हुन्छ।”
10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।